Trending
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |     प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |    
समाचार

आज फाल्गुनन्द जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

२५ कार्तिक २०८१, आईतवार ०३:१०

२५ कार्तिक, काठमाडौँ। किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरे । त्यसक्रममा उनले देशद्रोहीको अभियोग पनि खेप्नुपरेको थियो । किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको २००५ सालमा निधन भयो ।

किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्