Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी

२५ कार्तिक २०८१, आईतवार १२:५८

२५ कार्तिक, कञ्चनपुर। धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ ।

किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुर्दशन थापाले बताए । भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे ।

“प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ”, प्रमुख थापाले भने, “जनशक्ति व्यवस्थापन भएसँगै एक–दुई दिनमा धान खरिद केन्द्र सञ्चालनमा ल्याउँछौँ ।” उनका अनुसार सञ्चालनमा रहेका दुई वटै केन्द्रबाट हालसम्म आठ सय १२ क्विन्टल धान खरिद गरिएको छ ।

प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँगाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको प्रमुख थापाले बताए । कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानलाई सहजीकरण गरेको हो । किसानबाट माटो नभएको, भुस, पराल नभएको, नभिजेको गुणस्तरीय धान कम्पनीले खरिद गरिरहेको छ । कम्पनीको शाखा कार्यालयले खरिद गरेको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख, सहयोगीसहित तीन जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्