Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

२६ कार्तिक २०८१, सोमबार ०३:१०

२६ कार्तिक, इलाम। सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ ।

माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए ।

यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण समेत गर्ने उहाँले जानकारी दिनुभयो । “माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष राईले भन्नुभयो, “महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराइनेछ ।”

महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दू, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाइने छ । त्यस्तै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, भेशभूषा प्रदर्शन एवं जातीय सांस्कृतिक परिकार प्रदर्शन गरिने अध्यक्ष राईले बताउनुभयो । यहाँ आउने पर्यटकले फूल, आलु, मूला, अर्ग्यानिक चिया र तरकारीको प्रदर्शन गरिनेछ ।

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ । माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताए ।

नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निकै मनमोहक देखिन्छ ।

हरेक वर्ष हरिबोधनी एकादशी र नयाँ वर्षमा यहाँ ठुलो धार्मिक मेला लाग्ने गर्दछ । यस पटक भने महोत्सव नै आयोजना गरिएको आयोजक समिति सदस्य लीला भट्टराईले बताउनुभयो । “विगतमा यहाँ धार्मिक मेला लाग्ने गर्दथ्यो, यसपटक हामीले बहुधार्मिक महोत्सव नै आयोजन गर्ने जमर्को गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले माईपोखरीको पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा विश्वस्त छौँ ।”

माईपोखरी सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्व सम्पदा सूचीमा राखेको छ । माईपोखरी जान इलाम सदरमुकामबाट उत्तरमा बिब्लयाँटे बजार हुँदै आधा जति कालोपत्रे र आधा जति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्