Trending
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत     |     रास्वपा सांसदले सामूहिक राजीनामा     |     ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा     |     सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा     |     स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा     |     युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा     |     सिंहदरबारभित्र छिरे प्रदर्शनकारी     |     जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो     |     हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का     |     कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा     |    
समाचार

दुध उत्पादक किसानलाई अनुदान

२६ कार्तिक २०८१, सोमबार ०३:१८

२६ कार्तिक, नवलपरासी। नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई प्रतिलिटर रु २० अनुदान दिने भएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पु¥याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाई थियो ।

“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उनले भनिन्, “किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दुध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।” हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दुधमा रु २० नगद अनुदान दिने उल्लेख गरिएको छ । दुध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८÷७९ देखि प्रतिलिटर रु पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दुधमा अनुदान वितरण गर्न थाले पछि दुध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उनले बताइन् । “हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भनिन्, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दुध उत्पादन कम हुने गरेको छ ।”

गाउँपालिकाले गत आवमा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दुधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

“आव २०८०/८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दुधमा कूल रु पाँच लाख ६४ हजार १२ अनुदान रकम किसानलाई वितरण गरिएको छ”, उनले भने, “आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दुधमा प्रतिलिटर रु पाँचको दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको थियो ।”

गाउँपालिकाले दुध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दुध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले बताए । उत्पादन वृद्धि सँगसँगै किसानलाई उत्साहित गराउन यस वर्ष दुध उत्पादनमा आकर्षक अनुदान रकमको व्यवस्था गरिएको उपाध्यक्ष रानाको भनाई छ । चालु आवका लागि दुधमा अनुदान कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्