Trending
साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत     |     दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत     |     कर्णालीमा प्रशासनिक संरचना पुनर्संरचना हुँदै, मन्त्रालय घटाएर ६ बनाउने सिफारिस     |     एक हातमा दुधे बालक र अर्को हातमा खाली गाग्री बोकेर खानेपानी माग्दै सुकुम्बासी     |     नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक     |     युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी     |     बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न     |     गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा     |     फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा     |     ल्हेन्दे खोलाको बाढीबाट विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो     |    
समाचार

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

२८ कार्तिक २०८१, बुधबार ०२:२२

२८ कात्तिक,बागलुङ। चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटनस्थित बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताए ।

बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उनको भनाइ छ ।

उनले भने, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।”

समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् ।

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताए । “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हेर्यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उनले भने । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् ।

प्रतिक्रिया दिनुहोस्