Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

१ मंसिर २०८१, शनिबार ०२:४४

१ मंसिर, काठमाडौँ। सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बिचको समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाडौँमा ‘एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ । सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ ।

बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल शुक्रबार नै काठमाडौँ आएको छ ।

समन्वयात्मक बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सो बैठक भारतमा  भएको थियो । छैटौँ समन्वयात्मक बैठक २०७९ असोजमा काठमाडौँमा भएको थियो । कोभिड–१९ का समयमा भने समन्वयात्मक बैठक नियमित हुन सकेका थिएनन् ।

सीमा सुरक्षामा खटिइएका दुई सङ्गठनबीच महानिर्देशक–महानिरीक्षक, वाहिनीपति, गणपति तथा बोर्डर आउट पोस्ट स्तरमा पनि नियमित छलफल हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्