Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

१५ मंसिर २०८१, शनिबार ०४:३९

१५ मंसिर, दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।

उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए ।

आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले  जानकारी दिए । उनका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा बिक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् ।

हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा रु ६० हजारसम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरूले उत्पादन गरेको मासले बजार पाउँदा यस खेतीतर्फ लाग्न हौसला मिलेको बताए । उनले भने, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनका आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।”

भकुण्डीका ईश्वर गुरुङ, खेउसिङका ईश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रूपमा मास खेती गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजारसम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिए ।

गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्