Trending
नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |     क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने     |     सन्नी देओलको आग्रह– “धरमजीको स्वास्थ्य स्थिर छ, अफवाह नफैलाऔँ”     |     ह्वात्तै बढ्यो सुनको मूल्य     |     कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै     |     कस्तो रहला आज दिनभरको मौसम     |    
समाचार

हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री

१५ मंसिर २०८१, शनिबार ०४:३९

१५ मंसिर, दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ का कृषकले मास बिक्री गरी एकैदिन रु आठ लाख ४० हजार आम्दानी गरेका छन् ।

उक्त वडाका खेउसिङ, भकुण्डी, मजुवा, डोडेका कृषकले उत्पादन गरेको मास शुक्रबार बिक्री गरेका थिए ।

आँबुखैरेनी ३ मा सञ्चालन गरेको हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले  जानकारी दिए । उनका अनुसार उक्त मास प्रति किलो रु दुई सयमा बिक्री गरेका छन् । हाटबजारमा २९ जना कृषकले मास बिक्री गरेका छन् ।

हाटबजारमा मास बिक्री गरेर एउटा कृषकले बढीमा रु ६० हजारसम्म आम्दानी गरेका छन् । खेउसिङका कृषक चन्द्रबहादुर भुजेलले आफूहरूले उत्पादन गरेको मासले बजार पाउँदा यस खेतीतर्फ लाग्न हौसला मिलेको बताए । उनले भने, “मासको ढुवानी पनि गाउँपालिकाले नै गरिदिएको छ । उत्पादनका आधारमा अनुदानको व्यवस्था पनि मिलाउँदा कृषकलाई सहज भएको छ ।”

भकुण्डीका ईश्वर गुरुङ, खेउसिङका ईश्वर गुरुङ, मजुवाका मनबहादुर भुजेलले व्यावसायिक रूपमा मास खेती गरिरहेका छन् । आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले गाउँ–गाउँ पुगेर मास सङ्कलन गरी हाटबजारसम्म ल्याउन वडाले सहजीकरण गरेको जानकारी दिए ।

गाउँपालिकाले विगत एक वर्षदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ । हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषि उपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रूपमा विकास भएको छ ।

गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्