१९ मंसिर,काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल यही मङ्सिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने भएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने छन्।
सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम छ।
नेपालले भारतको र भारतले नेपालको प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा छ । सोही अनुसार केही अघि नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । द्विवेदीले नै प्रधान सेनापति सिग्देललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । प्रधान सेनापति नियुक्त भएपछि सिग्देलको यो पहिलो विदेश भ्रमण हुनेछ ।
नेपाल र भारतबिचको सम्बन्धमा दरार उत्पन्न भएको समयमा दुवै देशका सेना प्रमुख सक्रिय भएर त्यसलाई समाधान गर्ने गरेको इतिहास छ । यसपटक पनि सेनास्तरबाटै समाधान निकालिने जानकारहरू बताउँछन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको पाँच महिना पूरा हुन लागेको छ । यस बिचमा भारतसँगको सम्बन्ध सुधार हुनको साटो अझ दरार बढेको कूटनीतिक विज्ञ बताउँछन् ।
प्रधानमन्त्री ओलीलाई भारतले अहिलेसम्म पनि भ्रमणको औपचारिक निमन्त्रणा नदिएको भन्दै कतिपयले दुई देशबिच सम्बन्ध बिग्रिएको ज्वलन्त उदाहरणका रूपमा यसलाई प्रस्तुत गर्दै आएका छन् ।
यस बिचमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका छन् । मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई भारतले सुक्ष्म रूपले नियालिरहेको छ । भारतबाट फर्के लगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने चर्चा चलिरहेको छ ।