Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा: मन्त्री दाहाल

३१ भाद्र २०८१, सोमबार १४:२२

३१ भदौकाठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

इञ्जिनीयरिङ् अध्ययन संस्थान, पुलचोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा आज उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

मन्त्री दाहालले प्रविधिको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेकोसमेत बताए । “औद्योगिक मुलुकका कारण विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपाल जस्ता मुलुकहरू परिरहेका छन् । यसले पर्दा हिमालदेखि समुद्रसम्म प्रदूषणको मारमा परिरहेको छ । यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ । त्यसका लागि वातावरणमैत्री र नवीकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन आवश्यक छ ।”

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिक रूपबाट नै हाईड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

पेट्रोल र हाईड्रोजनको प्रयोगबाट चल्ने ‘इञ्जिन’ निर्माणको नेतृत्व गर्नुभएका डा प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इञ्जिनलाई हाईड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमूनाका रूपमा इन्जिन बनाइएको बताउनुभयो । यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ थियो ।

कार्याक्रममा क्याम्पस प्रमुख डा ईन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो रहेको बताए ।

सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इञ्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापासमेत सवार हुनुभएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, हाईड्रोजनविज्ञलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्