४ पुस, काठमाडौं। एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज/ स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० र २५–२१ तथा न्युटनले पासाङ ल्हामुलाई २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गरे ।
नेपाल राष्ट्रिय कलेजले ग्रामिणलाई २५–१६ र २५–२१, ग्लोसियरले ओरियन्ट कलेजलाई २५–१८, २१–२५ र १५–११, आयोजक हिमरश्मिले गीताञ्जलीलाई २५–२२ र २५–२०, सेन्ट लरेन्सले प्रारम्भलाई २५–१० र २५–१७, जय मल्टिपल क्याम्पसले चाणक्यलाई २२–२५, २५–१२ र १५–१३ तथा युनिग्लोबले मानसिंहलाई २२–२५, २५–१२ र १५–१० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
क्वाटरफाइनल हिमरश्मि र ग्लेसियर, नेपाल राष्ट्रिय र एन्जल्स हार्ट, न्युटन र युनिग्लोब तथा सेन्ट लरेन्स र जय मल्टिपलबीच हुनेछ ।
ओरिएन्टल सेमिफाइनलमा
ओरिएन्टल १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज पनि सेमिफाइनलमा पुगे ।
ओरियन्टले कौस्तुभ एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । ओरियन्टलका सोहेल एमडी ‘म्यान अफ द म्याच’ घोषित भए ।
हाइलीले एकलब्यलाई २–१ गोलले हरायो । हाइलीका जेनिथ फुयालले १ गोल गरे भने अर्को आत्माघाती थियो । एकलब्यका उज्ज्वल खड्काले १ गोल गरे । हाइलीका जेनिथ फुयाल ‘म्यान अफ द म्याच’ चुनिए ।
ब्रम्हकुञ्जले श्रमशीललाई २–० ले पाखा लगायो । ब्रम्हकुञ्जका ‘म्यान अफ द म्याच’ शुभम् खड्का र प्रयास गुरुङले समान १–१ गोल गरे । सेमिफाइनलमा ब्रम्हकुञ्जको भेट हाइलीसंग हुनेछ भने ओरियन्टले डिफेन्डिङ च्याम्पियन गेटवे एकेडेमीको सामना गर्ने छ ।
फ्रिडमको दुवै टोली सेमिफाइनलमा
फ्रिडम फाइटर क्लब ‘ए’ र ‘बी’ चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्रिडम ‘ए’ ले हेटौंडालाई ४–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि राजकुमार घिसिङले २ तथा मिलन राई र विकर्ण श्रेष्ठले समान १–१ गोल गरे । हेटौंडाका प्रवीर केसी र रुचनमान सिंहले समान १–१ गोल गरे । फ्रिडम ‘बी’ ले चितवनलाई २–० गोलले हरायो । विजेताका नीलेन्द्र देवानले दुवै गोल गरे ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा जोरपाटी एफसी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।
जोरपाटीले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई पेनाल्टी सुटआउटमा २–० ले पाखा लगायो । निर्धारित समयको खेल २–२ गोलको बराबरी भएको थियो । बौद्धले बीबीसी बनेपालाई २–० गोलले पन्छायो । बौद्धका अमिर लामा र उमेश लामाले १–१ गोल गरे । सेमिफाइनल फ्रिडम ‘ए’ र ‘बी’ तथा जोरपाटी र बौद्धबीच हुनेछ ।
कौशलटारमा पनि हिमालयन चेस एकेडेमीले ट्रेनिङ गराउने
काठमाडौं । हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नर्स (रिडर्स हव) सँग विहीबार सम्झौता गरेको छ ।
गत चैतमा थापाथलीस्थिमा स्थापना गरिएको हिमालयन चेस एकेडेमीको पहिलो शाखा विस्तारबारे यसका अध्यक्ष मोनालिशा खम्बूले भनिन्, ‘नेपाली चेसको लागि खेलाडी उत्पादनमा भक्तपुर उर्वर क्षेत्र हो । नियमित प्रशिक्षणको लागि भक्तपुरबाट थापाथली आउजाउ गर्न टाढा पर्नसक्छ । त्यसैले भक्तपुरका बालबालिकाकालाई नजिकै र सहजताका लागि योङ लर्नर्ससँग सहकार्य गर्दै कौशलटारमै प्रशिक्षण दिने व्यवस्था गरिएको हो ।’
योङ लर्नर्सकी संस्थापक वन्दना अर्याल भन्छिन्, ‘हामीले बालबालिकाको व्यक्तित्व विकासको लागि आर्टस्, भ्वाइलिन, नाट्यलगायत सिकाइरहेका छौं । एउटै स्प्थानमा बालिबालिकाले धेरै कुरा सिक्न पाओस् भनेर हामीले हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेर चेसको प्रशिक्षण थपेका छौं । आफ्ना बालबालिकालाई चेस सिकाउनका लागि धेरै अभिभावक सम्पर्कमा आएका छन् । अब चेसको नियमित प्रशिक्षण सञ्चालन गर्नेछौं ।’
उनका अनुसार पुस १३ गतेदेखि चेस ट्रेनिङ सुरु गरिनेछ । सुरुमा साप्ताहिक रुपमा शनिबार दिउँसो १२ देखि २ बजे ट्रेनिङ सञ्चालन हुनेछ, जसमा ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिका सहभागि हुन पाउनेछन् ।
दुवै संस्था गत वर्ष स्थापित भएका हुन् । नेपालको पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूदेवारा स्थापित हिमालयन चेस एकेडेमीका उपत्यकाका १३ विद्यालयमा चेस प्रशिक्षण दिइरहेको छ भने थापाथलीस्थित केन्द्रमा ८० भन्दा बढी खेलाडीले नियमित ट्रेनिङ गरिरहेका छन् । एकेडेमीले प्रतियोगिता व्यवस्थापथन, वर्कसपलगायत चेसका सम्पूर्ण गतिविधि सञ्चालन गर्दै आएको छ ।
टोप्स फुटसल सुरु
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता गोलढुंगास्थित संस्कृति शिक्षा सदनमा बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । जुनियर र सिनियर ब्वाइजमा समान १४–१४ टिमको सहभागिता रहेको तेजस्वीका प्रिन्सिपल समेत रहेका टप्सका इसीए कोओर्डिनेटर थिरबहादुर बस्नेतले जनाएका छन् । दुवैतर्फ सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
पहिलो दिन जुनियर ब्वाइजतर्फ समूह चरणको खेल सम्पन्न भएसंगै क्वाटरफाइनल पुग्ने टिमको टुंगो लागेको छ । समूह ‘ए’ बाट सुप्रिम र इडिफाइ, ‘बी’ बाट स्वेता सदन र ह्वाइट हेभन, ‘सी’ बाट ल्यान्डमार्क र निम्बल तथा ‘डि’ बाट तेजस्वी र संस्कृति शिक्षा सदन क्रमशः विजेता र उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । फाइनल शनिबार हुनेछ ।