१९ पुस, काठमाडौं। इ–स्पोट्र्स संघ नेपाल (इशान) को वार्षिक क्यालेन्डर अनुसार दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुने भएको छ ।
संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिप आगामी फागन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो ।च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ । अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४–४ खेलाडी अन्तिम चरणमा सहभागि हुनेछन् ।
इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार स्पलाई अनलिमेटेड अन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ । इशानका अध्यक्ष अन्जन धमलाले ई–स्पोट्र्सका विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए । धमलाले नेपाल प्लेजसँग लामो समयसम्म सहकार्य गर्दै ई–स्पोट्र्स विकासमा अघि बढ्ने बताए ।
‘इशानले छोटो समयमै विभिन्न स्थानिय राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ । यो विश्वमै धेरै रिभेन्यु जेनेरेट गर्ने खेल बनिसकेको छ । नेपालमा पनि यसको राम्रो सम्भावना छ ।’ इशान अध्यक्ष धमलाले भने । धमलाले ई–स्पोट्र्स खेल्दा अहिले पनि समाजमा नकरात्मक सोच रहेको भन्दै अब समाजमा फरक किसिमको सोच बनाउनका लागि ई–स्पोट्र्स च्याम्पियनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई–स्पोर्ट इतिहासमै यो कोशेढुंगा सावित हुने बताए । ‘हामी ई–स्पोट्र्स समुदायलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेका छौं । यो नेपाली ई–स्पोट्मै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौँ।’ श्रेष्ठले भने । यस्तै श्रेष्ठले नेपालमा गेमिङ संस्कृति विकास गर्ने र भविष्यमा गेमिङ पनि करियरको विकल्पको रुपमा लैजाउने योजना रहेको बताए ।
च्याम्पियनसिपमा नेपालको ई–स्पोट्र्स क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको इ–स्पोट्र्स संघले जनाएको छ ।च्याम्पियनसिपको कूल पुरस्कार राशी (प्राइज पुल) २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशी रहेको बताए । यसैबाट ६ विधाका विजेता उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । कार्कीले नेपाली ई स्पोट्र्सको विकास र ईस्पोट्र्स संघको पनि विकास गर्ने उदेश्य हो ।
महासचिव कार्कीले ई स्पोट्र्समा रुची राख्ने खेलाडीहरुका लागि संघले कार्यक्रम बनाईरहेको र यस प्रतियोगिताबाट आम जनतामाफ यस खेलको बारेमा अझ राम्रोसँग जानकारी गराउने उदेश्य रहेको बताए ।च्याम्पियनसिपमा सहभगि हुन चाहने खेलाडीहरुले पुस २० गते अर्थात भोलीदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता निःशूल्क रहेको छ ।
च्याम्पियनसिपका लागि कूल बजेट ३ करोड ७० लाख रहेको उज्जेनलाल श्रेष्ठले जानकारी दिए । उक्त बजेट विभिन्न प्रायोजकहरुबाट उठाउने उनले बताए । दोस्रो ई–स्पोट्र्स च्याम्पियनसिपका लागि इशानले चलचित्रकर्मी तथा ई–गेमिङका प्रवर्धक समेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ । पत्रकार सम्मेलनकै अवसरमा इशानले बस्नेतलाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक गरेको थियो ।
ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ईस्पोट्र्स खेल मात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने भएकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।
इशानले संघ स्थापना भएको तेस्रो महिनमै गत पुसमा सुर्खेतमा ई–स्पोट्र्सको पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो ।
नयाँ आर्थिक वर्षमा वार्षिक क्यालेन्डरकै घोषणा गरेर इशानले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ । जस अन्तर्गत बागमती ई–स्पोट्र्स च्याम्पियनसिपको आयोजना गरिसकेको छ भने इन्टर कलेज ई–स्पोर्ट राष्ट्रिय च्याम्पियनसिप सञ्चालन भइरहेको छ ।