२२ पुस, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको जालझेल र दाउपेचको राजनीतिका कारण एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार गठन गर्नुपरेको प्रस्टीकरण दिएका छन् ।
राजनीतिक स्थायित्व, सुशासन र विकास तथा जनतामा आशा–भरोसा जगाउन आफूहरूले गरेको इमानदार प्रयास दाहालकै कारण सफल हुन नसकेको समेत उनले टिप्पणी गरेका छन् ।
एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा आइतबार ४७ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले ०७९ को चुनावमा कुनै पनि दलले बहुमत नल्याएपछि राजनीतिक स्थायित्वका लागि कांग्रेससँग समीकरण गर्ने प्रयास गरेको तर सफल नभएपछि माओवादीसँग मिल्ने बाध्यात्मक विकल्प छनोट गरेको बताएका छन् । त्यसपछि पनि आशंका हुँदाहुँदै दोस्रो पटक गत फागुनमा माओवादीलाई उदारतापूर्वक सहयोग गरेको तर धोका पाएपछि कांग्रेससँग सहकार्य गर्नुपरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ०७९ पुस १० मा बनेको एमाले–माओवादी गठबन्धन दुई महिनामै भत्किएको थियो । त्यसपछि बनेको कांग्रेस–माओवादी गठबन्धन ०८० फागुन २१ मा टुटेर फेरि एमाले–माओवादी समीकरण तयार भएको थियो ।
एमाले–माओवादी गठबन्धन सरकार भएकै बेला गत असार दोस्रो सातातिर तत्कालीन प्रधानमन्त्री दाहालले ‘राष्ट्रिय सहमतिको सरकार’ का नाममा सरकारमा सहभागी हुन कांग्रेसलाई गरेको प्रस्तावबारे कांग्रेस नेताहरूबाटै आफूले जानकारी पाएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
असार ३० गते प्रधानमन्त्री बनाउन सहकार्य गरेको सत्तारुढ कांग्रेसप्रति नरम नीति अवलम्बन गर्दै राष्ट्रिय शक्तिहरू निर्णायक अवस्थामा एक ठाउँमा हुनुपर्ने समयको खाँचो रहेको ओलीको धारणा छ। ‘जनमतलाई सम्मान गर्दै उपलब्ध विकल्पमध्ये हामीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री प्रस्तावित गरेर नयाँ समीकरण निर्माण गरेका थियौं । यद्यपि, यसअघि नै हामीले कांग्रेससँग राजनीतिक स्थायित्वका लागि दुई मुख्य दल सहकार्यका साथ अगाडि बढौँ भन्ने प्रस्ताव राखिसकेका थियौँ’–उहाँको प्रतिवेदनमा भनिएको छ ।