१७ माघ, ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको निधन भएको छ ।
खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप गए राति ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित भँडारे खोलामा दुर्घटना भएको हो।
दुर्घटनामा केपिलासगढी गाउँपालिका-३ बासपानीका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगोले जल्दा गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि काठमाडौं लगिँदै थियो। उनी बोकेको जीप सडकबाट करीब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।
दुर्घटनापछि जीप चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
परिवारजनका अनुसार माघ १६ गते गाउँमा झुक्किएर बोत्तलमा राखिएको पेट्रोल तताउन पुग्दा मायावेदी जलेर गम्भीर घाइते भएकी थिइन्। उनका दुवै खुट्टा जलेको थिए।