Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

इजरायलले भन्यो–विपिन जोशी गाजामा छन्, तर आज रिहा हुने सूचीमा छैनन्

१७ माघ २०८१, बिहीबार ०६:३१

१७ माघ, काठमाडौँ। इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी सकुशल रहेको बताएको छ ।

गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ ।

इजरायलको प्रमुख अखबार टाइम्स अफ इजरायलले गाजामा ८ थाइ नागरिक, एक नेपाली र एक तान्जानियनलाई राखेको उल्लेख गरेको छ । यी एक नेपाली विपिन जोशी हुन् ।

समाचारका अनुसार गाजामा बन्धक बनाइएका विदेशीहरुमध्ये तीन जनाको मृत्यु भइसकेको इजरायलले घोषणा गरेको छ । इजरायलले मृत घोषित गरेका तीनमध्ये २ जना थाइ नागरिक र एक जना तान्जानियन नागरिक भएको रिपोर्टमा जनाइएको छ । यीबाहेक अन्य ६ थाइ र एक नेपाली नागरिक जीवितै रहेको अपेक्षा गरिएको छ ।

यसैबीच इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ । हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मोशे मोजेस छन् । हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो । आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन ।

रिपोर्टका अनुसार इजरायलले ५ थाइ नागरिकको रिहाइ पनि पुष्टि गरेको छ तर उनीहरुको नाम उल्लेख गरेको छैन । हमासले आज ३ इजरायलीसँगै ५ थाइ नागरिक रिहा गर्न लागेकोले अर्को चरणमा बाँकी एक थाइ र नेपालीलाई पनि रिहा गर्न सक्ने अपेक्षा गरिएको छ ।

फेब्रुअरी ३ देखि युद्धबिरामको अर्को चरणमा वार्ता हुनेछ । यो वार्ताको उद्देश्य युद्धलाई सदाका लागि अन्त्य गर्नु हुनेछ । यो वार्तापछि दुवै पक्षको सहमतिमा बाँकी रहेका सबै बनधक र प्यालेस्टिनी बन्दहिरुको रिहाइ गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्