Trending
गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित     |     लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ     |     चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु     |     बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने     |     इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव     |     सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड     |     प्रतियोगिता प्रशिक्षण वैशाख ६ देखि सुरु, मिस एण्ड मि. आइडल सिजन २ ले बाल प्रतिभालाई…     |     आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गर्न प्रभु साहको आग्रह     |     सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ: प्रधानमन्त्री     |     सुन हालसम्मकै महँगो, तोलाको कति पुग्यो ?     |    
कला र मनोरन्जन

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया

४ फाल्गुन २०८१, आईतवार ०८:२३

लन्डन – बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ ।

प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो ।

नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् ।

प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । “म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरूले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ ।

अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीहरू माथि चलचित्र बन्न सुरु भएको छ। जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ,” राजदूत घिमिरेले बताए ।

समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए ।

चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्‍याउन अञ्जिला निर्माण गरिएको बताउँदै भने, “नेपालमै पहिलो पटक हामीले फटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो ।” उनका अनुसार नेपाली खेल क्षेत्रमा अझै धेरै कथा छन्, जसलाई चलचित्र मार्फत विश्वसामु लैजान सकिन्छ ।

चलचित्र हेरेका दर्शकहरूले ‘अञ्जिला’  निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने चलचित्र हेरेपछि महसुस भएको बताउँदै चलचित्र हेरिरहँदा धेरै पटक आँखामा आँसु आएको दर्शकले बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले युकेका दर्शकहरूले चलचित्र अत्यन्तै मन पराएको बताए । “हङकङमा पनि चलचित्रको प्रिमियर भएको थियो, जहाँ उच्च प्रशंसा भएको थियो । ‘रियल स्टोरी’मा ‘रियल प्लेयर’लाई अभिनय गराउन निकै कठिन थियो, तर पनि हामीले ४ वर्ष लगाएर यो चलचित्र बनायौँ । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उत्साहित छौँ,” श्रेष्ठले भने ।यो चलचित्र नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ ।

निर्माता श्रेष्ठले प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकुन् भन र प्रेरणा दिनका लागि एञ्जिलाक घर बनाइदिन लागिएको जनाए । उनले यस अभियानले अन्य खेलाडीहरूलाई नि हौसला दिने विश्वास गरे । एञ्जिलाले भविष्यमा उक्त घरलाई फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदैछ । हालै मात्र यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ ।

चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

अञ्जिला नेपाली खेलकुद क्षेत्रमा निर्माण भएको पहिलो बायोपिक भएकाले यसको ऐतिहासिक महत्त्व छ । निर्देशक चाम्सले दर्शकहरूले यो चलचित्रलाई साथ दिएमा भविष्यमा अन्य खेलाडीहरूको जीवनमा आधारित चलचित्रहरू पनि बन्न सक्ने सम्भावना बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्