Trending
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो     |     एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै     |     भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज     |     एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |    
समाचार

काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्

११ फाल्गुन २०८१, आईतवार ०३:३६

 ११ फागुन,काभ्रेपलाञ्चोक। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस)विरुद्धको खोप लगाएका छन् ।

यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप कक्षा ६–१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ ।

“केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !”, कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भने । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो ।

जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । चार सय ५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा तीन सय ६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये एक हजार दुई सय चार बालिकाले मात्र खोप लगाएका छन् ।

यस्तै खानीखोला, नमोबद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्