Trending
चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक     |     सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता     |     घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |    
कला र मनोरन्जन

‘बलिदान’को प्रमुख नारी पात्र ‘किरण’को लुक सार्वजनिक, को हुन् नव नायिका ?

२३ फाल्गुन २०८१, शुक्रबार १०:३३

काठमाडौं। आगामी वडा दसैँको फूलपातीमा रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् ।

पोस्टरमा ‘किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको सङ्घर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।

चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए, जुन वर्गलाई उनले यस चलचित्रमा ‘भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ‘भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ ।

सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसन मार्फत कविता रायलाई छनौट गरिएको थियो । प्रमुख भूमिकामा यो चलचित्र नै रायको पहिलो चलचित्र हो ।

“राज्यको मूलधारबाट किनारिएका वर्ग ‘भिल्ला’ (चलचित्रको कथामा प्रयुक्त साङ्केतिक नाम)को बसोबास रहेको ‘भिल्लमगढ’ (काल्पनिक नाम)मा महिला माथि हुने सामाजिक उत्पीडन र तिनका कमजोरीको फाइदा उठाएर कुटिल नेताबाट ‘युज एन्ड थ्रो’ गरिने कथालाई आधार बनाएर निर्माण भइरहेको चलचित्र ‘बलिदान’ का लागि हामीलाई यस्तै परिवेशबाट आएको प्रतिनिधि पात्र ‘किरण’ को चरित्रलाई सशक्त रूपमा जीवन्त बनाउने अभिनेत्रीको आवश्यकता थियो,” निर्देशक सेनले भने, “यस भूमिकाका लागि उपयुक्त हाउभाउ, रुपरङ् र प्रभावशाली अभिनय क्षमता भएका महिला कलाकार छनोट गर्न अडिसनको आह्वान गरिएको थियो । हाम्रो कल्पनाको ‘किरण’, जसको आवरण, आचरण, बोल्ने लवज र पात्रले देखाउनुपर्ने सशक्त अभिनय कविता रायमा भेटिएकाले हामीले उनलाई यस भूमिकाका लागि छनौट गरेका थियौँ ।”

चलचित्रमा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र ‘आसुसेन फिल्म्स्‌ प्रा.ली.’ को प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्