काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले दलाल दलतन्त्र र नेताहरुको लुटतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यक रहेको बताएका छन् । जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन निर्णाय बनाउन जनता सडकमा आउनुपर्ने आवश्यक रहेको समेत उनले बताए ।
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौंको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको बिरोध भईरहेको बताउदै जनताको लोकतन्त्रकका लागि निर्णायक आन्दोलनमा सहभागि हुन उनले आह्वान समेत गरे ।
‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरुले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउँकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । यस्तो लुटेरा सरकारको बिरोधमा नागरिक सडकमा आउनुको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन म सबैमा आह्वान गर्छु । अब जनताले नै हो लोकतन्त्रक जोगाउँने, अरु कसैले सक्दैन् ।’
२४ चैतमा आजपाले काठमाडौंमा दलाल दलतन्त्र, भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर बिरुद्ध बृहत प्रदर्शन र जनसभा गर्दैछ । तेस्रो जनआन्दोलनको पूर्वसन्ध्यामा हुन लागेको सो कार्यक्रममा व्यापक जनसहभागिता हुने आजपाले जनाएको छ ।
कार्यक्रममा आजपा अध्यक्ष साहले महिला नेतृहरु शैलेजा आचार्य, साहना प्रधान, योगमाया लगायतको नामै लिएर उनीहरुले आफ्नो समयमा राम्रो र उदहरणीय काम गरेकोमा उच्चसम्मान एवं प्रशंसा समेत गरे । ‘यो धर्तीमा महिलाले नेतृत्व पाए अरुभन्दा राम्रो काम गरेर देखाउन सक्छन् । माता सीता, गढीमाई, भृकुटीको यो धर्तीमा महिलाहरुसंग विभेद हुनुमा सरकार जिम्मेवार रहेको छ’ उनले भने ।
अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार सहित बिभिन्न काण्डमा लागेर देश र जनताको चाहना पुरा गर्न नसकेको आरोप साहले लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए पनि संविधानको उल्लंघन गरेको गम्भिर आरोप उनले लगाए । संविधान अनुसार ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाले अधिकार र सहभागिता पाउनुपर्ने भए पनि संविधान अनुसार कार्यान्वयन नगरी सरकारले उल्लंघन गरेको आरोप उनले लगाए ।
‘अहिलेको मन्त्रिपरिषददेखी राजनीतिक नियुक्ति, राजदुत नियुक्ति, सहित सरकारद्धारा हुने बिभिन्न नियुक्तिमा सरकारले संविधानको उल्लंघन गरेको छ । हालै सचिवमा बढुवा हुनुपर्ने एक नम्बरमा रहेकी महिलालाई स्वास्थ्य मन्त्रालयमा सचिव बनाईएन । ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाको सहभागिता हुनपर्ने भए पनि त्यो कार्यान्वयन सरकारले गरेको छैन्’, आजपा अध्यक्ष साहले भने, ‘५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाको सहभागिता संविधानमा ३३ प्रतिशत भनेर राखे । यो आफैमा अन्याय हो, म संविधान सभाको सदस्य थिए, अन्याय भयो भनेर म विरोध पनि गरे । तर ५१ प्रतिशत दिनुपर्नेमा अहिले सरकारले ३३ प्रतिशत समेत अधिकार दिएको छैन् ।’
सरकारकै कारण अहिले मुलुकमा आर्थिक संकट आएको उनले बताए । दलतन्त्रका कारण मुलक दलदलमा फस्दै गईरहेको बताउदै उनले नेताहरु भ्रष्टाचारमा लागेकाले मुलुक समृद्ध हुन नसकेको बताए । युवाहरु देशबाट पलायन भईरहेको बताउदै उनले नेपाललाई समृद्ध बनाउँन सकिने सबैथोक रहेको बताए । तर त्यसका लागि नेता ईमानदार हुनुपर्ने साहको भनाई रहेको छ । मौलापुर नगरपालिकामा हरेक किसिमको कर फ्रि रहेको बताउदै उनले नेपाललाई समेत समृद्ध बनाउन सकिने बताए ।
प्रधानमन्त्री ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गर्दै उनले ओली र देउवाभन्दा पुर्वराष्ट्रपती बिद्या भण्डारी र अहिलेका परराष्ट्र मन्त्री आरजु देउवा राणा सफल भएको बताए । ओली र देउवाको आलोचना गर्दै उनले भण्डारी र आरजुको तारिफ गरे ।
‘देश र जनताको नेतृत्व गर्नसक्ने एक सफल महिला हो बिद्या भण्डारी । पुर्वराष्ट्रपती बिद्या भण्डारी केपी शर्मा ओलीभन्दा राम्रो देशको शासन सत्ता, पार्टीको नेतृत्व गर्नसक्ने सफल महिला हो’, आजपा अध्यक्ष साहले भने, ‘अहिले तपाईं हेर्दै हुनुहुन्छ, परराष्ट्र मन्त्री आरजु देउवा राणा देशबिदेशसंग राम्रो सम्बन्ध बनाउन लाग्नु भएको छ । उहाँले शेरबहादुर देउवाभन्दा राम्रोसंग देश र पार्टीको नेतृत्व गर्न सक्ने सफल महिला नेता हुनुहुन्छ ।’
ओली जहाँ जादा पनि बिरोध र आलोचना भैइरहेको बताउदै उनले देश र पार्टी संचालन गर्नमा असफल भएको बताए । यस्तै देउवाबाट समेत पार्टी वा सरकार संचालन राम्रोसँग हुननसक्ने बताउदै उनले महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सन्चालन गर्न सक्ने बताए ।
आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरु श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरु डा. हेमप्रसाद साह, सिमा जैसवाल, मिना देवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको विशेष सहभागिता रहेको कार्यक्रमका सञ्चालन एवं आम महिला मोर्चा बागमती प्रदेशका अध्यक्ष ममता साहले जनाएकी छन् ।
सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनाएको छ । यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत सोही भेलाबाट घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धनकुमारी मगरले जनाएकी छन् ।