Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

जनमत पार्टीद्वारा नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न कार्यदल गठन

२६ फाल्गुन २०८१, सोमबार १४:५६

काठमाडौँ। जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सो पार्टीको आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो । सङ्गठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ । मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यही फागुन २५ र २६ गते महोत्तरीको बर्दिवासमा भएको बैठकले आगामी रणनीति विषयमा छलफल गरी सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ । बैठकले तराई–मधेसको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नदीनालाको अवैध उल्खनन् रोक्न विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरेको छ ।

समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ हुने भनेर त्यसका लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमको आयोजना गरेर माहोल निर्माण गर्ने निर्णय भएको कार्यकारिणी सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपले उठाउने, तराई–मधेस फास्ट–ट्र्याक सम्पन्न गर्न तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा पैरवी गर्ने सो पार्टीको निर्णय छ ।

पार्टी अध्यक्ष डा सीके राउतको अध्यक्षतामा बसेको बैठकले सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथै सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्