Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

‘दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी’

११ चैत्र २०८१, सोमबार १०:३१

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् ।

आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास), नेपालद्वारा यहाँ आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्वः अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले खानेपानी र सरसफाइको क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, “खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र होइन, समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय हो । यस क्षेत्रमा महिलाको भूमिका झनै महत्वपूर्ण छ । घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास र स्वास्थ्य सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी प्रायः महिलाहरूको काँधमा हुन्छ ।”

उनले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्न सक्छन् भने । उनले भने, “महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् । तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ ।”

उनले महिला सशक्तीकरण बिना खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने समेत उल्लेख गरे । उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम र आर्थिक सहयोग उपलब्ध गराइने बताए । उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने समेत बताए ।

जल स्रोतको दिगो व्यवस्थापनका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले पानीको दुरुपयोग रोक्न, स्रोत संरक्षण गर्न, तथा सरसफाइको सही अभ्यास अपनाउन उपभोक्तालाई आग्रह समेत गरे ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन खेलेको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै मन्त्री यादवले महासङ्घको पहललाई सरकारले उच्च प्राथमिकता दिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्