Trending
बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |     ल्होसार कप : खुम्बु र आमादब्लाको जित     |    
समाचार

चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक, गीतबाट कथा दर्साउने प्रयास

२२ चैत्र २०८१, शुक्रबार ०९:०३

काठमाडौं। नेपाली चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ ।

शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ ।

गीतको भिडियोमा दुई आकर्षक स्थानहरू र दुई ऊर्जावान नृत्यांगनाहरू, आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ ।

उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यसका साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।

आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादव कुमार भट्टराईले बताए । यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जनाए ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका निर्देशक भट्टराईले यसअघि सुपर हिट चलचित्र ‘झोला’ र अर्को चलचित्र ‘भोर’ निर्देशन गरेका थिए । ‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा.लि. को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्