Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
कला र मनोरन्जन

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक

१४ बैशाख २०८२, आईतवार ०५:४०

काठमाडौं। गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक भिडियोमा अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको सशक्त अभिनय देख्न सकिन्छ । भिडियोमा भुसालले दिवङ्गत छोराको सम्झना गर्दै भावुक अभिव्यक्ति दिन्छिन् भने, दयाहाङले भुसाललाई आफ्नै आमाजस्तै माया गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा वसुन्धराले दयालाई केही रकम दिन्छिन्।

जसलाई दयाहाङले हल्काफुल्का शैलीमा गर्दै ‘खाइदिन्छु’ भन्छन् । त्यसपछि वसुन्धराले उनलाई इमानदार भएको भन्दै विश्वास प्रकट गर्छिन् । भिडियो अनुसार, उक्त रकम सहकारी संस्थामा जम्मा गर्न दिइएको बुझिन्छ ।

चलचित्र ‘महाभोज’को टिजरमा पनि दयाहाङ सहकारीका अध्यक्षको भूमिकामा देखिएका थिए, जहाँ उनले बचतकर्ताहरूको आक्रोशको सामना गरिरहेका छन् । अभिनेता खगेन्द्र लामिछानेले बचतकर्ताको भूमिकामा दयाहाङ प्रति रोष पोख्दै भनिरहेका छन्, “मान्छे मार्ने मात्र होइन, मर्न बाध्य बनाउने मान्छे पनि हत्यारा हो ।” टिजर र पछिल्लो सार्वजनिक भिडियोले चलचित्रको कथा अझ रोचक र जिज्ञासापूर्ण बनाएको अनुभूति दिलाएको छ ।

भिडियोमा लेखिएको सन्देशमा भनिएको छ, “सम्पूर्ण आमाहरूको सम्मानमा, चलचित्र ‘महाभोज’ परिवारको तर्फबाट आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को हार्दिक मङ्गलमय शुभकामना। अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन ।”

नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । निर्देशकका अनुसार, चलचित्र पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा केन्द्रित छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ । ‘महाभोज’ नेपालसँगै नेपालीहरूको बसोबास रहेका अधिकांश देशमा एकैसाथ प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्