काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले किसानले बाली लगाउँने र बिउँ छर्ने बेलामा नै मलखाद्यको हाहाकार भएको बताएका छन् ।
मलखादको हाहाकार मचाएर दुई तिहाईको बलियो सरकारले खुलेआम कालोबजारी गरिरहेको बताउदै उनले अन्नदाता किसानलाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले तराई मधेस सहित पहाडका किसानहरु मलको अभावले तडपिरहेको बेला सरकार र प्रहरीको उच्च ओहोदामा बस्नेहरु किसानलाई लुटेर महल बनाउँने कार्य आफूलाई स्वीकार्य नभएको बताए ।
‘सम्मानिय सभामुख महोदय, अहिले मल, खाद्यको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, विउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाएपनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होईन, पसलहरुमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईंको हो कि होईन ? केन्द्रीय सरकारको हो कि होईन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ आजपा अध्यक्ष साहले भने ।
पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद्य उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसंग खेलवाड गरिरहेको उनले बताए ।
उनले भने,‘नेपालमा ३० लाख हेक्टर जग्गा, जहाँ ११ लाख मेट्रिक टन खाद्य चाहिन्छ, तर सरकारले पाँच लाख मेट्रिक टनको ठेग्गा गर्छ, तर त्यो पाँच लाख आयो त ? म सम्मानिय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु । अहिलेसम्म तीन लाख मेट्रिक टन नेपाल आएको हामी सुनिराखेका छौं । आवश्यकत्ताभन्दा तीन गुणा कम उपलब्ध गराएर के सन्देश दिन खोजिदैछ । किसानलाई यसरी तड्पाएर मार्नुभन्दा बरु गला रेटेर मारेको भए राम्रो हुनेथियो नि ।’
सरकारले किसानलाई मलखाद्य दिन पनि नसक्ने र यदी कुनै तरिकाले भारतबाट किसानले खाद्य ल्यायो भने प्रहरीले खोस्ने र लुट्ने काम गरेको उनले बताए । भारतमा आफै खाद्यको अभाव रहेको र चोरेर चाकरी गरेर किसानले एकदुई बोरा खाद्य ल्याउँदा प्रहरीले खोस्नु गलत भएको उनले बताए ।
‘म प्रहरीका बर्दीधारी र फुलीधारीलाई सोध्न चाहन्छु कि तपाईं योग्य भएर त्यहाँ अफिसर बन्नुभयो, जसले खाद्यको जिम्मा लिएको छ, त्यसलाई तपाईं सोध्न सक्नुहुन्न, जसले जिम्मा लिएको छ उसले दिँदैन, अनि त्यहाँ तपाईंहरुको कानून लाग्दैन ? म आईजिपीलाई सोध्न चाहन्छु । अनि एउटा अवोध र कमजोर किसानलाई लछारपछार गरेर खाद्य खोस्नुहुन्छ । कुन नैतिकताले खोसेको हो ?’
उनले नेपाली जनतालाई सेवा गर्ने जिम्मेवारी प्रहरीको पनि भए पनि प्रहरीले कुन नियम, कानून अनुसार किसानलाई लुटने काम गरेको भन्दै प्रश्न उठाए । किसानलाई लुटेर महल बनाउने जुन खेल भईरहेको छ त्यो नेपाली जनतालाई स्वीकार्य नभएको उनले बताए । नियम कानून अनुसार देश सञ्चालन गर्ने जिम्मेवारी प्रहरीको समेत भएको बताउदै उनले पैसाका लागि जेपनि गर्ने काम बन्द गर्न चेतावनी समेत दिएका छन् ।