Trending
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै     |     ‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने     |     धनुषामा मोटरसाइकल दुर्घटना, दुई किशोरको ज्यान गयो     |     भारतीय आक्रमणमा मसूद अजहरका १० आफन्त र ४ सहयोगीको मृत्यु     |     प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?’     |     आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ: प्रधानमन्त्री     |     क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ     |     सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाऔँ : प्रभु साह     |     स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ     |    
समाचार

‘ह्याक फर नेपाल’ ४८ घण्टे ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा हुने

२४ बैशाख २०८२, बुधबार ०९:३५

 काठमाडौँ। नेपाल स्टुडेन्ट्स आईटी क्लबले ‘ह्याक फर नेपाल’ नामक ४८ घण्टे ह्याकाथन आयोजना गर्ने भएको छ।

यो कार्यक्रम जेठ १५, १६ र १७ गते नेपाल कलेज अफ इन्फर्मेसन एन्ड टेक्नोलोजी (एनसीआईटी), बालकुमारीमा हुने तय भएको छ। ‘४८ घण्टा, एक लक्ष्य, अनगिन्ती नवप्रवर्तन’ भन्ने नारासहित आयोजना हुने यस ह्याकाथनको मुख्य उद्देश्य नेपाली युवाहरूलाई प्रविधिको प्रयोगमार्फत समाजका विविध समस्याहरू समाधान गर्न प्रेरित गर्नु हो।

प्रतियोगितामा सहभागी हुने टोलीहरूले चारवटा मुख्य क्षेत्रमा—स्वास्थ्य सेवा, कृषि, खुला नवप्रवर्तन र ई-शासन—बाट कुनै एक विषय रोजेर त्यसमा आधारित समस्या समाधानको नयाँ उपाय वा परियोजना विकास गर्नु पर्नेछ। कार्यक्रम अवधिभर टोलीहरूले अवधारणा निर्माण, प्रोटोटाइप विकास र समाधान प्रस्तुतिकरणका चरणहरूमा काम गर्नेछन्। उत्कृष्ट प्रोजेक्ट तयार गर्ने टोलीले १ लाख ६० हजार रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउनेछन्।

नेपाल विद्यार्थी संघ, एनसीआईटी यस ह्याकाथनमा सह–आयोजकको रूपमा आबद्ध रहेको छ। आयोजकको भनाइमा, यस ह्याकाथनले युवाहरूमा नवप्रवर्तनशील सोच विकास गर्न, स्थानीयस्तरमै प्राविधिक समाधानहरू सिर्जना गर्न र दीर्घकालीन सामाजिक तथा प्राविधिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले देशभित्रै युवाहरूलाई सिर्जनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने र नेपालमा नवप्रवर्तनलाई व्यवहारमा उतार्ने उद्देश्य राखेको आयोजक क्लबको भनाइ छ। यो ह्याकाथन प्रविधिको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्राको सुरुआतको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्