Trending
एसईईमा ४.० जिपिए ल्याउने बाँकेकी सृजना डि.सी. पहिलो छात्रा     |     विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन     |     सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक     |     धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो     |     प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै     |     खानेपानीको व्यवस्था गर्न नसक्ने खानेपानी मन्त्रालय खारेज गर्नुपर्ने प्रभु साहको सुझाव     |     मुख्यमन्त्री कँडेलले गुरुयोजना निर्माणलाई दिए प्राथमिकता     |     जाजरकोट डिभिजन वन प्रमुखमाथि कार्यकक्षमै हातपात     |     खानेपानीको माग गर्दै सुकुम्बासीले गरे आन्दोलनको घोषणा     |     गृहमन्त्रीसंग प्रभु साहको प्रश्न, ‘तपाईहरुको कमाण्डमा सुरक्षा निकाय छ की छैन ?’     |    
समाचार

ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा, नेपाली चलचित्रप्रति गरे गर्व

१३ जेष्ठ २०८२, सोमबार ०९:१३

काठमाडौं। प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।

एरिक भ्यालीले भने, “म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। । यसमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन् ।”

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले भने, “नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली सिनेमाका प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्तै चलचित्रले यही सम्भावनालाई पुष्टि गर्छ ।”

निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली सिनेमा बजारमा सफलताको शिखर चुमिरहेको चलचित्र हो । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ ।

दर्शकहरूले कलाकारको दमदार अभिनय, यथार्थपरक संवाद शैली, र प्रभावशाली निर्देशनलाई चलचित्रको प्रमुख विशेषता मानेका छन् । सामाजिक सञ्जालमा स्वतन्त्र समीक्षकहरूबाट पनि चलचित्रले सकारात्मक चर्चा पाइरहेको छ । निर्माता संस्था आर्टमाण्डूले चलचित्रले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ, जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ ।

एरिक भ्याली : नेपालको सांस्कृतिक अध्ययनमा समर्पित नाम

एरिक भ्याली एक जना यस्ता विदेशी स्रष्टा हुन्, जसले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन् । १८ वर्षको उमेरमा अफगानिस्तान भ्रमणका क्रममा भिसा सकिएपछि भारत हुँदै नेपाल आएका उनी नेपालका अरुण, तमोर, डोल्पा, बझाङ र बाजुराजस्ता दुर्गम क्षेत्रको गहिरो अध्ययनमा लागे । नेपाली भाषा सिक्दै उनले यहाँको जीवनशैली, स्थानीय परम्परा र सांस्कृतिक विविधतालाई बुझ्ने प्रयास गरे ।

उनको चर्चित चलचित्र ‘क्याराभान’ (१९९९) ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, प्राकृतिक सङ्घर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो । उक्त चलचित्रले ओस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो । भ्यालीको दृष्टिकोणमा नेपाल केवल प्राकृतिक सौन्दर्यको भूमि होइन, सांस्कृतिक गहिराइले भरिएको समाज हो ।

‘ऊनको स्वीटर’ ले सिर्जना र संवेदनाको बलमा दर्शकमाझ स्थान बनाउँदै गरेको यस अवस्थालाई एरिक भ्यालीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रशंसाले थप विश्वसनीयता दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्