Trending
जमिन्द्रमान घलेको प्रश्नः पृथ्वी सुब्बा गुरुङ जतिपटक उठे पनि अरू पार्टीलाई किन टाउको दुखाइ ?     |     बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |    
समाचार

स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री ओली

१५ जेष्ठ २०८२, बुधबार १२:२२

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरूको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताएका छन्।

काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै उनले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भने ।

उनले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरूले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए।

“अविकासबाट विकासमा मुलुकलाई लान सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । कुरा काट्नेहरू त गल्ली गल्लीमा भेटिन्छन् । काम गर्न र साँच्चिकै परिवर्तन ल्याउन कुरा काटेजस्तो सजिलो हुँदैन”, प्रधानमन्त्री ओलीले भने, “तीस वर्षअघि बाँझो कान्ला र खेत भएको यस ठाउँमा आधुनिक अस्पताल बन्छ र विकास हुन्छ भनेर सपना देख्नेहरूले यो काम अघि बढाए । त्यो सम्भव छ भन्ने विश्वास गरेर स्थानीय जनताले आफ्नो खेतबारी दिएर योगदान गरे । अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य टुट्न दिनुहुँदैन । यस सहकार्यमा सरकारले पनि सक्दो साथ दिनेछ ।”

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्