Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

१९ जेष्ठ २०८२, आईतवार ०३:५१

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ ।

भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आए नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो ।

किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्