Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

वीरेन्द्रनगरमा टी.बी. स्मृति यू–१६ क्रिकेट: मधेशको लगातार दोस्रो जित

२२ जेष्ठ २०८२, बुधबार १०:१२

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति प्रथम यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ।

आजको खेलमा मधेशले गण्डकी प्रदेशलाई १०४ रनमा समेटेर १०५ रनको सजिलो लक्ष्य पूरा गर्दै विजय प्राप्त गर्‍यो। अभय यादवको प्रभावशाली बलिङले मधेशको जितमा महत्वपूर्ण भूमिका निभायो।

अभय यादवले ८ दशमलव २ ओभर बलिङ गर्दै १९ रन खर्चेर ७ विकेट लिए। उनको बलिङमा गण्डकीका ब्याट्सम्यानहरूले निकै संघर्ष गर्नुपर्यो। अभयले ३८ डट बल फाल्दै शुरुवाती ब्याट्सम्यान विनय कार्कीलाई १४, सुप्रिम सुनारलाई ११ र समिर न्यौपानलाई शून्य रनमा आउट गराए। ‘प्लेयर अफ दि म्याच’ घोषित अभयले पाँचौं नम्बरमा आएका भुवन भट्टराईलाई ३ रनमा एल.बी.डब्ल्यू गराए भने अनिष राउतलाई ९ रनमा स्टम्प्ड गराउन सफल भए। त्यस्तै राज परियार र रिदम पाण्डेललाई क्रमशः ५ र ५ रनमा क्याच आउट गराएर विपक्षीलाई थलाए।

गण्डकीको टिमले ३२ दशमलव २ ओभरमा १ सय ४ रन बनायो। रोज श्रेष्ठले सर्वाधिक २० रन बनाए भने विनय कार्की र रमित कँडेलले समान १५ रन थपे। सुप्रिम सुनारले ११ रन जोडे। १५ रन अतिरिक्त पाएको गण्डकीको टिम बलियो स्कोर बनाउन नसक्दा मधेशले सजिलै लक्ष्य पुरा गर्न सक्यो।

जवाफी ब्याटिङमा मधेशले धेरै संघर्ष गर्नु परेन। मधेशका लागि सुशान्त सिंहले १५ बलमा २५ रनको बलियो आधार बनाएर उत्कृष्ट प्रदर्शन गरे। त्यसैगरी, शेख अरमानले २३, माहि यादवले १३ र नुमैर यादवले १० रनको योगदान दिए। मधेशले १४ दशमलव १ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो र जित निश्चित गर्‍यो।

यो जितसँगै मधेश प्रदेशले प्रतियोगितामा आफ्नो स्थिति अझ बलियो बनाएको छ। आगामी खेलहरूमा पनि मधेशले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। अभय यादवको बलिङ र टिमका अन्य खेलाडीहरूको समग्र प्रदर्शनले भविष्यमा मधेश प्रदेशलाई अझ सफल बनाउन मद्दत पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्