Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत

३० जेष्ठ २०८२, बिहीबार ०९:४६

नयाँदिल्ली। भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।

चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।

आगो लागेको केही समयपछि तटरक्षक बलले सार्वजनिक गरेका तस्बिरहरूले कुनै शक्तिशाली विस्फोटनले फ्याँकेको जस्तो जहाजभरि भारी कन्टेनरहरू छरिएका देखाएको छ । त्यसबेलादेखि जहाजमा आगो लागेको छ ।

“यो जहाजमा दुई हजार एक सय २८ मेट्रिक टन इन्धन र खतरनाक कार्गोसहित सयौँ कन्टेनर छन्, जसले समुद्री वातावरण र क्षेत्रीय पोत परिवहन मार्गहरूलाई गम्भीर जोखिम पारेको छ”, तटरक्षक बलले बुधबार राति एक विज्ञप्तिमा भनेको छ।

तटरक्षक बलले कार्गोको सामग्रीको बारेमा थप विवरण दिएको छैन, तर भनेको छ, “अवस्था गम्भीर रहेको छ ।” भारतीय तटरक्षक बल र नौसेनाले अठार चालक दलका सदस्यलाई उद्धार गरेको छ । एक इन्डोनेसियाली, दुई ताइवानी र एक म्यान्मारीसहित चालक दलका चार सदस्य बेपत्ता भएको सूचीमा छन् ।

तटरक्षक बलले जलिरहेको जहाजमा ‘उद्धार टोलीका पाँच सदस्य’ र एक गोताखोरलाई राखेको बताएको छ ।“आगो पूर्णरूपमा निभ्न बाँकी रहेको अवस्थामा सम्भावित पारिस्थितिक विपत्ति रोक्न जहाजलाई तटबाट टाढा तान्नका लागि डोरी बाँध्ने प्रयासहरू जारी छ”, यसले भन्यो, “आगो निभाउने सघन प्रयासले… देखिने आगोको ज्वालालाई उल्लेखनीय रूपमा कम गरेको छ । तथापि भित्री डेकहरू र इन्धन ट्याङ्कहरू नजिक आगो अझै सक्रिय छ ।”

आगो निभाउने प्रयासमा पाँचवटा तटरक्षक जहाजका साथै हवाईजहाज र एउटा हेलिकप्टरसहित सातवटा जहाज संलग्न छन् । एमभी वान हाई ५०३ कन्टेनर जहाज भारतको दक्षिणी तटमा केही हप्ताभित्रै सङ्कटमा परेको दोस्रो जहाज हो ।

खतरनाक सामान बोकेको लाइबेरियाको झण्डा बोकेको कन्टेनर जहाज गत महिनाको अन्त्यतिर केरलाको तटमा डुबेको थियो । भारतीय नौसेनाले सबै २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्