Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
खेलकुद

पुलिस र एपीएफ ‘प्रचण्ड कप’ फाइनलमा

३२ जेष्ठ २०८२, शनिबार ०३:००

पोखरा। पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब फाइनलमा प्रवेश गरेका छन्। अब यी दुई बलिया टोलीबीच उपाधिका लागि शनिबार निर्णायक भिडन्त हुने भएको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई सिधा सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। खेलमा पुलिसले एभरेष्टलाई २५–१६, २५–१३ र २५–११ को सहज जित निकालेको हो।

यस्तै, दोस्रो सेमिफाइनलमा एपीएफले न्यू डायमण्ड क्लबलाई प्रतिस्पर्धात्मक खेलमा २५–१७, २६–२४ र २५–१९ को सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गर्‍यो। दोस्रो सेटमा केही समय कठिनाइ भए पनि एपीएफले दबाबमा उत्कृष्ट खेल प्रस्तुत गर्दै न्यू डायमण्डलाई सोझो सेटमा नै पराजित गर्‍यो।

नेपाल स्पोर्ट्स एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगिता फाइनलसहित शनिबार सम्पन्न हुनेछ। प्रतियोगिताको उद्देश्य महिला भलिबलको स्तर उकास्नुका साथै राष्ट्रियस्तरका खेलाडीहरूलाई प्रोत्साहित गर्नु रहेको आयोजकले बताएको छ।

प्रतियोगितामा देशभरका उत्कृष्ट महिला क्लबहरू सहभागी थिए। च्याम्पियन बन्ने टोलीले नगद ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यसैगरी प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि छुट्टै सम्मान गरिनेछ। समग्र उत्कृष्ट खेलाडीले नगद २० हजार पुरस्कार पाउनेछन भने विभिन्न विधागत रूपमा उत्कृष्ट ठहरिएका खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए।

प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिता र दर्शकहरूको उपस्थिति भलिबलप्रतिको बढ्दो रुचिको संकेत भएको आयोजकले जनाएको छ। शनिबार हुने फाइनल खेलमा देशभरका भलिबलप्रेमीहरूको चासो र उत्साह केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्