Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

डोल्पाका ७०५ घरमा सोलार वितरण

३२ जेष्ठ २०८२, शनिबार ०६:१८

सुर्खेत। विद्युत् पहुँच नपुगेका दुर्गम हिमाली जिल्ला डोल्पाका पाँच स्थानीय तहमा सौर्य ऊर्जा (सोलार) वितरण सुरु गरिएको छ। कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेका छार्काताङसोङ, काइके, डोल्पोबुद्ध, शे फोक्सुण्डो र ठूलीभेरी पालिकाका ७०५ घरधुरीमा सोलार जडान गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पाका प्रमुख प्रकाश गिरीका अनुसार सोलार वितरण कार्य अन्तर्गत छार्काताङसोङ गाउँपालिकाको ६ वटा वडामा ३५० घरधुरीलाई सोलार जडान गरिँदैछ। यसका लागि करिब रु ६६ लाखको लागत लाग्ने अनुमान गरिएको छ।

त्यस्तै, काइके गाउँपालिकाको दलित बस्ती वनढाडामा ७५ घरधुरीलाई सोलार जडान गर्न रु २० लाख बजेट विनियोजन गरिएको छ। डोल्पोबुद्ध गाउँपालिका–६ मा ८० घरधुरीका लागि रु २५ लाख बराबरको सोलार वितरण कार्य सुरु गरिएको छ।

शे फोक्सुण्डो गाउँपालिका–१ मा पनि ४५ घरमा सोलार जडान गरिनेछ, जसका लागि रु २० लाखको खर्च अनुमान गरिएको छ।  त्यसैगरी ठूलीभेरी नगरपालिका–११ स्थित एक गाउँमा १५५ घरधुरीलाई सोलार वितरण गर्न रु ३० लाखको लगानी गरिएको छ। यो काम स्थानीयवासी र कार्यालयको साझेदारीमा अन्तिम चरणमा पुगेको ऊर्जा विकास कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा अझै थुप्रै स्थानहरू विद्युत्को पहुँच बाहिर रहेका छन्। सरकारी तथा स्थानीय स्रोतको प्रयोग गरी, सौर्य ऊर्जा प्रविधिको माध्यमबाट यस्तो दुर्गम स्थानमा ऊर्जा प्रवाह गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो।

योजना अनुसार, सौर्य ऊर्जा वितरणसँगै स्थानीयवासीलाई राति उज्यालो, मोबाइल चार्ज, रेडियो ट्युनिङजस्ता आधारभूत सुविधा प्राप्त हुने विश्वास लिइएको छ। डोल्पा जस्ता उच्च हिमाली र विकट क्षेत्रका लागि सोलार ऊर्जा दीर्घकालीन रूपमा भरपर्दो विकल्प मानिन्छ।

प्रतिक्रिया दिनुहोस्