वीरेन्द्रनगर। मुद्दा मिलाइदिने नाममा रकम असुली गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका–३ शान्तिबजार स्थायी घर भई हाल वीरेन्द्रनगर–१० मा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर–१३ इन्द्रपुर निवासी ३४ वर्षीया मुना चन्द रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका एक व्यक्तिलाई हिरासतमुक्त गराइदिने भन्दै ती दुई जनाले पीडित परिवारसँग ५० हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो।
प्रहरीले उनीहरूलाई बेइमानीपूर्वक आर्थिक लाभ उठाउँदै आपराधिक लाभ (एक्सटर्सन) को उद्देश्यले रकम असुली गरेको आरोपमा पक्राउ गरेको हो। उनीहरूविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।