Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित

२२ असार २०८२, आईतवार ०८:१६

काठमाडौं। एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो। हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ। निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन्। यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन्।

सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो। त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन्। जितसँगै उज्वेकिस्तानले पहिलोपटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ।

त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको थियो। मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी गर्यो । पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन्। यस्तै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन्। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। उसका लागि खाबीबुलेएभाले गोल गरिन्।

यस्तै खेलको  १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो। खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन्। खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन्।

मध्यान्तरपछिको खेलको ७०औँ र ७१औँ मिनेटमा साम्बाले लगातार गोल गरिन्। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। त्यसअघि खेलको पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्