Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक

२५ श्रावण २०८२, शनिबार १७:४९

काठमाडौं। चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि चलचित्रको मुख्य पात्रले गर्ने संघर्ष छ । ट्रेलरमा कोरिया जान मुख्य पात्रले गरेको संघर्ष, काठमाडौंमा आएपछि ठगिएको कथा र त्यसपछि परिवन्धमा परेर गरेका अनेक काम र हन्डर समेटिएको छ ।

चलचित्रका मुख्य पात्र विजय बराल बाउले लिएको ऋण चुक्ता गर्न कोरिया जानेभन्दै घरबाट हिँडेपछि कसरी काठमाडौंमा अड्किन्छन्, बाउलाई पक्कि घरको छानामुुनि बास बसाउन देखेको सपना पूरा गर्ने रहरमा आफ्नै जिन्दगी अरूको बन्दकमा राख्नु परेको बाध्यात्मक अवस्था ट्रेलरमा देखिएको छ ।

कोरिया जान नसकेपछि काठमाडौं छटपटिएर बसिरहँदा भेटिने मिरुना मगर र उनीसँगको प्रेम, दिदी केकी अधिकारीलाई भिनाजुले दिने दुःखलगायतका दृश्यले दर्शकको मन जित्छ ।

पारिवारिक कथामा बनेको निम्नमध्यम बर्गीय आम नेपालीको कथामा चलचित्र बनेको ट्रेलरले देखाएको छ । त्यसैले आम नेपालीले चलचित्र मन पराउनेमा निर्माणपक्षको पूर्ण विश्वास छ ।

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्