काठमाडौँ। नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ ।
ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।
गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो ।
साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो । नेपाल र ओमानले हाल तीन खेलबाट ६ अङ्क जोडेका छन् ।
युएईको चार अङ्क रहँदा जापान र कतारको समान दुई अङ्क छ । अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ ।
आजै हुने सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपाल ओमानसँग खेल्नेछ । उक्त खेल आज राति पौने ९ बजे सुरु हुनेछ ।—