Trending
डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |     न्यूयोर्कको मेयर जितेपछि नेपाली रेस्टुरेन्टमा म:म खान पुगे मेयर ममदानी     |     मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु: च्याप्टर–१’     |     सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो आफ्नो अफिसियल एन्थम     |    
खेलकुद

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान

२२ कार्तिक २०८२, शुक्रबार २०:३५

काठमाडौं। लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन् । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

४६ वर्षीय टिनुसँग रणजी ट्रफीमा विभिन्न टिमलाई प्रशिक्षक दिएको अनुभव छ । उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । उनको प्रशिक्षणमा केरला विजय हजारे ट्रफीमा दुई पटक क्वाटरफाइनल पुगेको थियो ।

उनले सन् २०१७ मै केरलाको बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको रुपमा समेत काम गरेका थिए । यस्तै सन् २०२० मा केरला क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नुअघि उनले केरला क्रिकेट एकेडेमीको हाई पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा काम गरेका थिए ।

यस्तै पछिल्लो पटक सन् २०२४ -२५ सिजनमा उनले आन्ध्र क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए । टिनुले यस वर्षको सुरुमा एमआरएफ पेस फाउण्डेसनमा काम गर्न थालेका थिए । यस फाउण्डेसनले भारतका लागि विश्व स्तरीय पेस बलरहरू उत्पादन गर्ने काम गर्दै आएको छ ।

भारतीय राष्ट्रिय टिमका पूर्व फास्ट बलरसमेत रहेका टिनुले भारतका लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय दुवैमा समान ५ विकेट लिएका थिए ।

एसियन गेम्स गोल्ड मेडलिस्ट टि सी योहान्नानका छोरा समेत रहेका टिनु केरला स्टेटबाट टेष्ट क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् । उनले सन् २००१ मा इंग्ल्याण्ड विरुद्ध भारतका लागि टेष्टमा डेब्यु गरेका थिए । यस्तै सन् २००२ मा वेष्टइन्डिज विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

टिनुले सन् २००९ मा भएको इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरूबाट खेलेका थिए । यस्तै उनले सन् १९९९ देखि २००८ सम्म केरलाका लागि खेलेका थिए ।

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि टिनुले टिमको सफलतामा आफ्नो योगदान दिन उत्साहित रहेको बताएका छन् । “नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउँदा म सम्मानित महसुस गर्दछु । यो लिग तीव्र गतिमा अघि बढिरहेको छ ।

मैदान भित्र र मैदान बाहिर दुवैतर्फ लुम्बिनी लायन्सको भावनालाई प्रतिनिधित्व गर्ने बलियो, प्रतिस्पर्धात्मक र एकीकृत टिम निर्माण गर्दै यसको निरन्तर सफलतामा योगदान दिन म उत्साहित छु ।”

यसअघि नै लुम्बिनीले भारतका अनुभवी प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरिसकेको छ । भारतकै टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेपछि लुम्बिनीको कोचिङ बनेको छ । उनीहरूलाई नेपालका शक्ति गौचन र सुबास खकुरेलले साथ दिनेछन् ।

शक्ति गौचन पहिलो सिजनदेखि नै लुम्बिनी लायन्सको टिमसँग जोडिएका हुन् । यस्तै राष्ट्रिय टिमका पूर्व ओपनर सुबास खकुरेल दोस्रो सिजन लुम्बिनीको सहायक प्रशिक्षक नियुक्त भएका हुन् ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, “रोबिन सिंहको मार्गदर्शन, टिनु जस्ता अनुभवी प्रशिक्षक साथै शक्ति गौचन र सुबास खकुरेलको साथमा हाम्रो कोचिङ टोली अत्यन्त सशक्त बनेको छ । विदेशी खेलाडीहरू पनि त्यसै अनुरूप छनोट भएका छन्, त्यो पनि हामी क्रमशः सार्वजनिक गर्दै जानेछौं ।”

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडीको रुपमा छन् । यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन ब्याटर डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्