बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ । पञ्चकोटीले कालाशैनी क्रिकेट क्लबलाई २०६ रनले जितेको हो ।
जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कालाशैनीको पारी १७ दशमलव ३ ओभरमा ७६ रनमा समेटियो । उसका लागि दिनेश चन्दले अविजित ३४ रन जोडे । बलिङतर्फ पञ्चकोटीका कमल बुडालले ४ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले ३६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनायो । उसका लागि लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले । लोकेन्द्रले ९३ र जीवनले ६४ रनको योगदान दिए ।
यस्तै सुदीप कार्कीले अविजित ३४ रन बनाए । लोकेन्द्रलाई प्लेयर अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । बलिङतर्फ कालाशैनीका पङ्कज चन्द र टेकेन्द्र चन्दले चार चार विकेट लिए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए । प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने सङ्घका जिल्ला अध्यक्ष विनोदबहादुर चन्दले बताए ।