Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा

२८ कार्तिक २०८२, बिहीबार १८:१२

काठमाडौं। गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् ।

बेलाबखतमा उल्लेख्य शो सङ्ख्या नपाएको भन्दै चलचित्रको प्रदर्शन रोकिएता पनि गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले उल्लेख्य शो पाएका छन् । अहिले चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा देखिएको छ ।

गत तिहारलाई लक्षित गर्दै कत्तिक १५ गतदेखि प्रदर्शनरत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गरिरहेको छ । निर्माण पक्षले दाबी गरेअनुसार यसले घरेलु बजारमा ४० करोड बढीको व्यापार (ग्रस कलेक्सन) गरिसकेको छ । विदेशमा पनि यसले व्यापारमा कीर्तिमान बनाइरहेको छ ।

यस्तै, गत कात्तिक ३० गतेदेखि प्रदर्शनरत चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि आफ्नो लगानी सुरक्षित गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुङ्गानाले जानकारी दिइन् । “नेपाल प्रदर्शन, विदेशी प्रदर्शन अधिकार, ओटिटी प्रदर्शन अधिकारबाट लगानी सुरक्षित गर्न सफल भएका छौँ । भारतको ओटिटी प्लेटफर्ममा महङ्गो मूल्यमा बिक्री गरेका छौँ । तेलुगु भाषामा हामी भारतका चलचित्र भवनमा नै प्रदर्शन गर्दैछौँ । यसकारणले हाम्रो लगानी सुरक्षित भएको घोषणा गरेका हौँ”, उनले भनिन् । अभिनेत्री ढुङ्गानाले स्वदेशी बजारमा एक सातामा रू पाँच करोड ५४ लाखको व्यापार गरेको जानकारी दिइन् ।

यस्तै चलचित्र ‘तेल भिसा’ ले पनि सुरूआती समयमा राम्रो व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । उनले भने, “तेलभिसा हेर्न परिवार नै चलचित्र भवनमा देखेका छौँ । शुक्रबार र शनिबार बिहानी शोमा देखिनुभएका दर्शक र उहाँले दिनुभएको प्रतिक्रियाले हाम्रो चलचित्रको प्रचार उहाँहरूले नै गर्दिनुहुन्छ भन्नेमा ढुक्क छौँ । धेरै दर्शकको आँखा रसाएको पाएँ, किनकि यसमा विदेशमा रहेका परिवारको कथालाई देखाइएको छ ।”

चलचित्रमा अभिनेता विपिन कार्की, ऋचा घिमिरे, पूजा चन्द, वर्षा राउत, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरूले अभिनय गरेका छन्। शङ्कर घिमिरेले निर्देशन गरेको चलचित्रमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा देखाइएको छ ।

अभिनेता रमेश उप्रेतीले पछिल्लो समय बनिरहेका चलचित्रले नेपाली विषय र कथालाई उठान गरेका कारण दर्शकको रोजाइमा परिरहेको बताए । उनले भने, “पछिल्लो समय मैले हेरेका नेपाली चलचित्र निकै राम्रो बनेका छन् । नेपाली माटो सुहाउँदो कथा र प्रस्तुतीकरण भएका कारण दर्शक चलचित्रको विषय र पात्रसँग जोडिएको हुन सक्छन् । यी चलचित्र हेर्दा दर्शक सन्तुष्ट भएकै कारण एकपछि अर्को नेपाली चलचित्रले राम्रो व्यापार समेत गरिरहेको छ ।”

आज नेपाली चलचित्र हेर्न दर्शकको उपस्थिति विदेशी चलचित्रको तुलनामा बढी देखिएको छ । दसैँ अगाडि पर्याप्त शो नपाएको कारण देखाउँदै चलचित्र ‘बेहुली फ्रम मेघौली’ को निर्माण समूहले प्रदर्शन स्थगित गरेका थिए । तर अहिले चलचित्र भवनमा नेपाली चलचित्रकै दबदबा देखिएको छ । व्यापारमा पनि विदेशीभन्दा नेपाली चलचित्र निकै अगाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्