काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्समाथि जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको हो । १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमा अलआउट भयो ।
उसका लागि शेर मल्लले २७, दिलिप नाथले २५, डी’आर्की शर्टले २२ तथा रोहित पौडेल र गुलाबदिन नइबले ११–११ रन जोडे ।
काठमाण्डुका मिलिन्द कुमार र जेरहार्ड इरास्मसले दुई–दुई तथा शाहब आलम, करण केसी, सन्तोष यादव र राशिद खानले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्यो । उसका लागि कप्तान करण केसीले अन्तिममा प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याउन टोलिलाई माथि उकासे ।
मात्र ११ बल खेलेका उनले ४ छक्का र १ चौकाको मद्दतले ३४ रनमा अविजित रहे । यस्तै, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरास्मसले १७–१७ रन बनाउँदा राशिद खानले १४ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका रुवेन ट्रम्पलमान, शेर मल्ल, गुलाबदिन नइब र रोहित पौडेलले दुई–दुई विकेट लिए ।
काठमाण्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र तेस्रो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।
यता, लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।