काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत विराटनगर किङ्सले पहिलो क्वालिफायर खेल्ने भएको छ ।
भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगरले राम्रो रनरेटको आधारमा पहिलो क्वालिफायरमा स्थान पक्का गरेको हो । टोलिले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्नेछ ।
१४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि फाफ डु प्लेसिस र साम हिजलेटले अर्धशतक बनाए । प्लेसिसले २० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५० रन जोडे भने हिजलेटले २७ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५१ रन बनाए ।
यस्तै मार्टिन गप्टिलले २२ रन बनाए । प्रतिश जिसीले लगातार दुई छक्का प्रहार गर्दै विराटनगरलाई सानदार जित दिलाए । उनी ३ बलमा १३ रनमा अविजित रहे ।
वलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हरमित सिंहले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो ।
उसका लागि इशान पाण्डेले ३८, आरिफ शेखले अविजित ४५, जोश ब्राउनले २४, विनोद भण्डारीले १५, दिपेन्द्र सिंह ऐरी १९ रन जोडे ।
वलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले तिन तथा बसिर अहमद र प्रतिश जिसीले एक एक विकेट लिए ।