काठमाडौँ। नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले यूएईको दुबईमा मंसिर २१ देखि २८ सम्म हुने एसियन युथ पारा गेम्समा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा छन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा छन् । नेपाली टोली सोमबार राति दुबई जानेछ । उनले मंसिर २६ मा प्रतिस्पर्धा गर्ने छिन् ।
नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतीले बिदाइ गरेका थिए ।
रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १० औं एसियाली पारा तेक्वान्दोमा सहभागिता जनाएकी थिइन् । उनले १३ औं कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ । उनकै प्रशिक्षणमा सन् २०२१ बहराइनमा भएको एसियन युथ पारा गेम्समा पलेशा गोबर्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए ।
एथलेटिक्समा युथ पारा गेम्समा पुरुष खेलाडी मोहन रोका र विजय मोक्तान, टेबलटेनिसमा महिला खेलाडी निर्मला भण्डारी, पुरुष खेलाडी स्विकृत न्यौपाने र प्रशिक्षकमा बसन्त भारती छन् भने पावरलिफ्टिङमा मनीष पुन, अफिसियलमा गणेशबहादुर कार्की, काजु सिवाकोटी रहेका छन् । ओमनाथ शिवाकोटी सेफ द मिसनमा छन् । टोलीलाई राष्ट्रिय पाराम्लिपिक कमिटीका अध्यक्ष राधा घलेले बिदाइ गरेकी थिइन् ।