काठमाडौं। देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।
एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन । कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घन्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो ।
क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागि भएका हुन् । क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् ।
एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ ।