Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत

१६ माघ २०८२, बिहीबार १७:०१

काठमाडौं। चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।

निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै कैलाश खेरको गीत चलचित्रमा रहेको जानकारी दिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्र छन् ।

प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रुपमा छन् । तेज गिरी रिसाहा मुद्रामा छन् । रुसा न्यौपाने हेरिरहेकी छन् । बिमला लिम्बू पनि केही आश्चर्यमिश्रित भावमा छिन् । विकाश जोसी हातमा डमरु बोकेर चिच्याइरहेको देखिन्छ ।

श्यामस्वेत पोस्टरमा चक्र र आगो देखिन्छ । पोस्टरले चलचित्रका पात्रहरू तनावमा रहेको देखाएको छ । कलरले निरश र तनावपूर्ण जिन्दगी संकेत गरिरहेको छ । महाशिवरात्रिको छोको पारेर फागुन १ गते रिलिज हुने चलचित्र ‘शिवांश’ बारे गायक खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि एक विशेष भिडियो सन्देश जारी गर्दै आफ्नो नयाँ सांगीतिक परियोजना र भारत-नेपालबीचको प्रगाढ सम्बन्धबारे चर्चा गरेका छन् ।

आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली चलचित्र ‘शिवांश’मा समावेश ‘शिव ताण्डव स्तोत्रम्’ गायनको सन्दर्भमा यो सन्देश दिएका हुन् । उनले नेपाली श्रोताहरूले आफ्ना हरेक गीतलाई दिने माया र साथप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् ।

“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि म कसरी आभार व्यक्त गरुँ भन्ने शब्द छैन,” खेरले भनेका छन् । कैलाश खेरले आफ्नो आवाज रहेको चलचित्र ‘शिवांश’लाई भारत र नेपालको मैत्री सम्बन्धको प्रतीकको रूपमा चित्रण गरेका छन् । उनले भनेका छन्, “यस पटक केही विशेष छ । भारत-नेपाल मैत्री सम्बन्धको सौजन्यबाट हामीले एउटा अत्यन्तै प्यारो ‘ताण्डव स्तोत्रम्’ तयार पारेका छौं, जुन मैले गाउने अवसर पाएको छु ।”

साथै, खेरले नेपाली दर्शक र श्रोताहरूबाट ‘शिवांश’ का लागि पहिले जस्तै माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन् ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्