Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

झापा गोल्डकपः एपिएफ फाइनलमा

१ फाल्गुन २०८२, शुक्रबार २०:३३

झापा। झापामा जारी ‘झापा गोल्डकप’अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

एपिएफले आयोजक झापा–११ लाई घरेलु मैदानमा टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै एपिएफले जित हासिल गरेको छ । यो जितसँगै एपिएफले रु सात लाख ५० हजार सुरक्षित गरेको छ ।

एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने नवीन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बूले बचाएका थिए ।

झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१औँ मिनेटमा झापाले अग्रता लियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भए ।

झापाको अग्रता छ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नवीन लामाले ६७औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनान्चालीसौँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट वञ्चित भएको थियो । खेलको ५७औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।

एपिएफले ३०औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ दी म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद रु २५ हजार पुरस्कार पाए । शनिबारको अर्काे सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलरक्षकले जनही रु ३५ हजार पुरस्कार पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्