Trending
डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |    
खेलकुद

अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम

२० जेष्ठ २०८३, बुधबार १९:३५

काठमाडौं। अविनाश सुनार र भगवती खड्काले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बुधबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

अविनाशले छात्र हाइजम्प तथा भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान रचेका हुन् । दुवै बागमती प्रदेशका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको १.८२ मिटरको कीर्तिमान सुधार गरे । १.८२ को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए ।

कोशी प्रदेशका टंक यादव दोश्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेश्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीकी आराध्य चालिसे तथा सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रुपमा पहिलो भए । दुवै १.४३ मिटर उचाइ नाघे । कोशीकी सुस्मिता बस्नेत तेश्रो भइन् ।

छात्रा ४ सय मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा थियो ।

फाइनलमा भने भगवतीले निर्धारित दूरी ५९.११ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् । बागमतीकै अनिशा थारु दोश्रो तथा लुम्बिनी प्रदेशकी रोशनी कामी तेश्रा बने । उक्त स्पर्धाको छात्रमा बागमतीका निरज शाह पहिलो भए । उनले निर्धारित दूरी ५०.९४ सेकेन्डमा पार गरे । गण्डकीका अतित थापा दोश्रो तथा गण्डकीकै अंकित रानाभाट तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते । उनले दूरी तय गर्न १०.४६ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका सुरेश चौधरीले रजत तथा लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते । सोही स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । लुम्बिनीकै आशिका चौधरी दोश्रो तथा बागमतीकी सुरुची मोक्तान तेश्रो भए ।

छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार पहिलो भए । लुम्बिनीका अरविन्द्रकुमार यादव दोश्रो तथा कर्णालीका अनिल शाही तेश्रो बने । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुक पहिलो भइन् । अस्मिताले दौड पूरा गर्न ५ मिनेट १३.९ सेकेन्ड समय लगाइन् । लुम्बिनीकी अञ्जुली मल्ल दोश्रो तथा बागमतीकी शर्मिला विक तेश्रो भए ।

सटपुटको छात्रमा बागमतीका महेन्द्र केसी प्रथम भए । उनले १३.४० मिटर थ्रो गरे । लुम्बिनीका राजन भण्डारी द्वितीय तथा कर्णालीका अनन्त विक तृतीय स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ९.६० मिटर थ्रो गरेकी सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । बागमतीका मनमाया थिङ दोश्रो तथा अप्सरा श्रेष्ठ तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्