Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एसियन गेम्स छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

२१ जेष्ठ २०८३, बिहीबार २०:०५

काठमाडौं। नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध १६७ रनको फराकिलो जित निकाल्यो ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा नौ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो ।

मलेसियाका कप्तान सयद अजिजले ५४ रन जोडे । उनले ४५ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । शर्विन मुनियान्डीले १८ र मोहम्मद आइमनले १३ रन बनाए ।

नेपालका शेर मल्लले सर्वाधिक तीन विकेट लिए । करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको थियो ।

नेपालका कुशल भुर्तेलले १२६ रनको उत्कृष्ट इनिङ खेले । ५४ बलको सामना गरेका उनले १४ चौका र आठ छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो । उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाउने पहिलो नेपाली तथा समग्रमा १०औँ खेलाडी बनेका छन् ।

आसिफ शेखले ६८ रन बनाए । उनले २४ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० रन जोडे ।

कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ र तेस्रो विकेटका लागि दीपेन्द्रसँग ५१ रनको साझेदारी गरेका थिए ।

मलेसियाका वीरनदीप सिंहले तीन, विजय उन्नी र सयद अजिजले दुई/दुई विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट चार अंक जोड्यो । पराजित मलेसिया पनि समान खेलबाट दुई अंकका साथ उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गर्‍यो ।

नेपाल र मलेसियाले यसअघि नै एसियन गेम्समा स्थान पक्का गरिसकेका थिए । पहिलो खेलमा दुवै टोलीले चीनलाई हराएका थिए । नेपालले २२१ रनले पराजित गरेको थियो । मलेसिया नौ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्