Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
खेलकुद

ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै

११ असार २०८३, बिहीबार १४:२१

काठमाडौँ। ब्राजिल र मोरक्को फिफा विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्।

बिहीबार बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतका खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३-० ले तथा मोरक्कोले हाइटीलाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

मियामी स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियरले दुई तथा मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

उनले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थपेपछि ब्राजिलले २-० को अग्रता बनायो। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे।

यस जितसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बनेको छ। समान ७ अंक भए पनि हेड-टु–हेड आधारमा मोरक्को समूह उपविजेता बनेको हो।

एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४-२ ले हरायो। खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता लिएको थियो।

तर ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। ४३औं मिनेटमा हाइटी पुनः अग्रता लिन सफल भए पनि पहिलो हाफको इन्जुरी समयमा मोरक्कोले फेरि खेल बराबरीमा ल्यायो।

दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको मोरक्कोले ७८औं मिनेटमा पहिलोपटक अग्रता लियो भने ८९औं मिनेटमा अर्को गोल थप्दै ४-२ को जित दर्ता गर्‍यो।

यस नतिजासँगै हाइटी जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्यान्डको भने नकआउट चरणमा पुग्ने झिनो सम्भावना अझै कायम रहेको छ।

प्रतिक्रिया दिनुहोस्