काठमाडौँ। मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा योगदान पुर्याएबापत कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
बङ्गलादेशमा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुद (साग) र १३औँ एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सुनिल लामालाई उहाँको निरन्तर समर्पण र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई दिलाएको सफलताको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
त्यसैगरी, विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपलब्धि हासिल गरेका उनका छोरा याङतेन लामालाई पनि सोही अवसरमा सम्मानित गरिएको छ ।
हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आउनुभएका सुनिलले त्यहाँ र काठमाडौँको रानीवनमा ‘च्याम्पियन्स मार्सल आट्र्स एकेडेमी’ स्थापना गरी कराते खेलको प्रवद्र्धनमा अहिले पनि सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत रन्जीता लामाले नेपाली करातेका चिरपरिचित र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि खुसीको क्षण भएको बताउनुभयो । साथै उहाँले च्याम्पियन्स मार्सल आट्र्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलकर्मीहरूलाई गर्ने स्वागत र सत्कारको विशेष प्रशंसासमेत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित सांगीतिक समूह ‘एक्स ब्यान्ड’ का ड्रमर सुरेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो । यसैगरी, १३औँ सागका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्देकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि उहाँहरूलाई खादा ओढाई बधाई ज्ञापन गर्नुभएको थियो ।
सम्मान ग्रहण गरेपछि मन्तव्य राख्दै सुनिल लामाले आफू र आफ्नो छोराको सफलताको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।