काठमाडौं। आयोजक एन्जल्स हार्ट नेसनल स्कुलले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा आइतबार विजयी सुरुआत गरेको छ ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा नेपाल प्रिमियर लिग (एनपीएल) टिम काठमाडौं गोर्खाजको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्जल्स हार्टले त्रिलोक विद्यालयलाई ४१ रनले पराजित गर्यो।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भइरहेको टी–१० इन्डोर क्रिकेटको अन्य खेलमा एन्जल्स हार्ट माविले पारामाउन्ट एकेडेमीलाई ४५ रन, डिएभी (रातो) ले नवोदित विद्या कुञ्जलाई ६६ रन, द सेलिब्रेसन को–एडले भ्याली पब्लिकलाई १७ रन र चेल्सी वल्र्ड स्कुलले मानसिंह धर्मलाई ५ विकेटले हराए ।
त्यस्तै नेरिक एकेडेमीले एसिया प्यासिफिकलाई ३७, डिएभी ‘नीलो’ ले श्री गम्भीर समुन्द्र सेतु माविलाई ५१ र सत्य साइ शिक्षा सदनले हिमालयन ह्वाइटहाउसलाई ११ रनले पाखा लगाए ।
प्रतियोगिताको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान वज्राचार्यले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, काठमाडौं गोर्खाजका क्रिकेट निर्देशक शरद भेषावकर, एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिम थापालगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २४ छात्र टिम सहभागी छन् । विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । फाइनल शुक्रबार हुनेछ ।