Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो

२० आश्विन २०८१, आईतवार ११:१३

२१ असोज, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।

सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले मन्त्रिपरिषद्को निर्णपछि सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलको जानकारी दिए । “सुक्खा बन्दरगाह निर्माणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन प्रयोग गर्न दिने निर्णय भएको छ”, उनले भने, “अब सुक्खा बन्दरगाह निर्माण प्रक्रिया छिट्टै अघि बढ्छ ।”

इञ्जिनियर केसीका अनुसार सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ । “उक्त जग्गा सट्टाभर्ना वा सो जग्गा बराबरको मूल्य हामीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई  दिनुपर्ने हुन्छ”, उनले भने, “त्यसपछि निकुञ्ज कार्यालयले रुख कटानको आदेश दिन्छ ।”

उनका अनुसार बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार सात सय दुई रुख काटिनेछन् । “सुक्खा बन्दरगाह भारत सरकारले आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन्छ”, इञ्जिनियर केसीले भने, “अब हामीले छिट्टै यताको प्रक्रिया अगाडि बढाउने र भारतले पनि बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाउँछ ।”

बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र कामसक्ने भारतीय पक्षले जनाएको छ । सुक्खा बन्दरगाह निर्माणका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ ।  सुक्खा बन्दरगाहमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायत पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्